संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रममन्त्रीलाई बुझायो ज्ञापनपत्र

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई मन्त्रालयमा भेटी ज्ञापनपत्र बुझाएको छ । जेटीयुसीसीका अध्यक्ष विष्णु लम्सालको नेतृत्वमा समन्वय केन्द्रमा आवद्ध सातवटा ट्रेड युनियन महासङ्घका अध्यक्षसहितको टोलीले सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

विभिन्न २० बुँदे मुद्धा समेटिएको ज्ञापनपत्रमा राज्य, रोजगारदाता र ट्रेड युनियनहरुले सबै सरोकारवाला पक्षलाई समेट्दै आपसी सहकार्यमा अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

उक्त केन्द्रमा पेसागत महासंघ नेपाल, एकिकृत ट्रेड युनियन महासंघ, समाजवादी ट्रेड युनियन महासंघ, राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ, एकिकृत ट्रेड युनियन महासंघ स्वतन्त्र र स्वतन्त्र ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् ।

उक्त समन्वय केन्द्रले काठमाण्डौमा भोलि पत्रकार भेटघाट कार्यक्रम तय गरेको समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*